फेसबुकमा महिलालाई दुर्व्यवहार गर्ने मकवानपुरगढीका युवक पक्राउ
मकवानपुर, २३ साउन । सामाजिक सञ्जाल फेसबुकमा महिलाहरुलाई अपशब्द बोल्ने मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ घर भई हाल चितवन बस्ने केदारप्रसाद घिमिरेलाई मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोईराला र नेपाल तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।
फेसबुकमा बिपिन अधिकारी नामक फेक आईडी बनाई महिलाहरुलाई म्यासेञ्जरमा अश्लिल भिडियो तथा अडियो रेकर्ड गरी गाली बेइज्जत गर्ने २५ वर्षीय घिमिरेलाई उनीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हु्न् । बिगत केही समयदेखि घिमिरेले महिलाहरुलाई फेसबुकमार्फत दुव्र्यवहार गरेको गुनासो आफुहरुलाई आएको कारण आज हेटौँडा ५ मनकामना चोकबाट घिमिरेलाई नियन्त्रणमा लिईएको मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाले घिमिरेलाई नियन्त्रणमा लिईएको र सार्वजनिक हित, नैतिकता विरुद्धको कसुर तथा साईबर क्राईम अन्तगर्त कारवाही गरिने बताए ।
























