आज एकै दिन ५८.६७ प्रतिशतले बढ्यो प्याजको मुल्य

काठमाडौँ – भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा परेको छ । अघिल्लो दिनको तुलनामा बुधबार प्याजको थोक मूल्य प्रतिकेजी ५८।६७ प्रतिशतले बढेको छ। बुधबार प्याजको मूल्य प्रतिकेजी ४४ रुपैयाँले बढेर एक सय १९ रुपैयाँ पुगेको छ।

हिजो अर्थात मंगलबार प्याजको मूल्य प्रतिकेजी थोकमा १५ रुपैयाँले बढेर ७५ रुपैयाँमा बिक्रीवितरण भएको थियो। भारतले निर्यातमा प्रतिबन्ध लगाएको एक दिनमै मूल्य १५ रुपैयाँले बढेको थियो।

आइतबार थोकमा प्रतिकेजी ५९ रूपैयाँ रहेको प्याजको मूल्य सोमबार एक रुपैयाँले बढेर ६० पुगेको थियो।

भारतले आन्तरिक माग धान्न र आकासिएको मूल्य नियन्त्रण गर्न प्याज निर्यातमा रोक लगाएको छ। भारतबाट प्याज आउन रोकिएपछि प्याजको अभाव तथा मूल्य आकासिनेसहित कालोबजारी पनि बढ्न थालेको छ ।

हिन्दुहरुको महान पर्व दसैँ–तिहारमा प्याजको खपत बढी हुने गर्छ। मूल्य आकासिने डरले उपभोक्ताहरुले पनि ठूलो परिणाममा प्याज सञ्चय गर्न थालेका छन्। जसका कारणले व्यापारीहरुले आफूखुशी मूल्य बढाउने देखिन्छ। अभावको समयमा व्यापारीहरुले स्टक राख्ने– लुकाउने गर्छन्। कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिको मूल्य सूचिका अनुसार बुधबार मात्रै किलोमा ४४ रुपैयाँले प्याजको मूल्य बढेको छ। बजारमा कुनै पनि वस्तुको अभाव हुने देखेपछि व्यापारीहरुले मूल्य बढाउने, लुकाउने, कालोबजारी गर्ने गरेको पाइन्छ। गत वर्ष पनि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यपारीहरुले आफूखुशी मूल्य बढाएका थिए।

नेपालमा भारतबाट ठूलो मात्रामा प्याज ल्याइन्छ । चीनबाट पनि प्याज आयात हुन्छ। तर नेपालीहरुले चाइनिज प्याजको तुलनामा भारतीय प्याज धेरै रुचाउँछन्।

राष्ट्रिय तरकारी तथा फलफूल व्यवसायी महासंघका प्रमुख खोमप्रसाद घिमिरेले नेपालमा आलुको उत्पादन बढे पनि प्याज तथा कागतीको उत्पादन भने न्यून परिणाममा हुने बताए।

उनले भने, ‘तराईमा प्याज तथा कागती उत्पादन गर्न सकिन्छ। तर यसमा लागत धेरै लाग्ने र उत्पादन गर्न समय लाग्ने भएकाले किसानहरु यसतर्फ त्यति आर्कषित भएका छैनन्। आधुनिक तरिकाले उत्पादन गर्ने हो भने आयत गर्नुपर्ने अवस्था रहँदैन।’

उनका अनुसार जबसम्म आन्तरिक उत्पादन हुँदैन तबसम्म उपभोक्ताहरुले यस्ता समस्याहरु भोगिरहनुपर्छ। भारतले आफ्नो देशमा समस्या आउने बित्तिकै निर्यातमा रोक लगाउँछ। जसको प्रभाव सोझै नेपालमा पर्छ।

भारतले गतवर्ष भदौकोबिचमा पनि आन्तरिक उत्पादन परिपूर्ति गर्न प्याज निर्यातमा रोक लगाएको थियो। त्यस समयमा नेपालमा प्याजको मूल्य २ सय ५० पुगेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*