मकवानपुरको ईन्द्रसरोबरमा पहिरोले स्कर्पियो पुरिँदा एक जनाको मृत्यु
हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा पर्ने हेटौंडा(काठमाण्डौ छोटो राजमार्गमा पहिरोले स्कर्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ ।
पहिरोमा परि मृत्यु हुनेमा बारा जिल्लाको प्रसौनी गाउँपालिकाको वडा नंबर ४ का ४० वर्षीय युनिष आलम रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।
आज बिहान काठमाण्डौबाट हेटौंडा आउँदै गरेको बा १७ च ४८७४ नंबरको स्कर्पियोलाई ईन्द्रसरोबरको देउराली नजिक पहिरोले पुरेको थियो । यसैगरि पहिरोले एक मोटरसाईकल पुरेकोमा प्रहरीले मोटरसाईकलमा सवार दुई जनाको उद्धार गरेको छ ।
बा ९७ प ४८५१ नंबरको मोटरसाईकलमा सवार दुई जनाको उद्धार गरिएको प्रवक्ता रानाले बताए । उनले उद्धार गरिएका दुबै जनाको खुट्टामा चोट लागेको र उपचारको लागि काठमाण्डौ पठाईएको बताए ।
























