हेटौंडा – काठमाण्डौं सुरुङ मार्ग निर्माण गर्न १२ परामर्शदाता इच्छुक
हेटौंडा — भीमफेदी–कुलेखानी सुरुङ (पोस्टबहादुर बोगटी सुरुङमार्ग) निर्माण गर्न १२ वटा अन्तर्राष्ट्रिय परामर्शदाताले आशयपत्र दर्ता गराएका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको परामर्शदाता छनोटका लागि भदौ १ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
‘विभिन्न मुलुकका १२ वटा कम्पनीले परामर्शदाताका निम्ति आशयपत्र दर्ता गराएको मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर एवं मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकारी दिए । ‘१२ मध्ये ६ वटा लिस्टिङ गर्छौं । त्यसपछि उनीहरूलाई पत्र पठाउँछौं,’ उनले भने । परामर्शदाता छानिसकेपछि ढिलोमा माघभित्र सुरुङको टेन्डर निकाल्ने तयारीमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय छ । वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न संघीय सरकारले कार्यदल गठन गरेको छ ।
संघीय सरकारले सहलगानी गर्न प्राविधिक, आर्थिक र कानुनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यदल गठन गरेको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलबीच भदौ ९ मा भएको छलफल तथा निर्णयअनुसार ६ सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलले सुरुङमार्ग निर्माण र सञ्चालनका लागि प्राविधिक, आर्थिक र कानुनी पक्षमा तोकिएको कार्य क्षेत्रगत सर्तबमोजिम एक महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने समयावधि तोकिएको छ । संघीय सरकारले लगानी गर्न अध्ययन कार्यदल गठन गरेपछि सुरुङमार्ग बन्ने पक्का भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका एक वरिष्ठ प्राविधिकले बताए । सुरुङ निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा उत्साहित भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । परामर्शदाता छानिएपछि सुरुङमार्गको टेन्डर प्रकाशन गर्ने मन्त्रालयले जनाएको छ । ‘बढीमा चार महिनाभित्रमा टेन्डर आह्वान गर्ने तयारी छ,’ सिंहले भने, ‘सुरुङमार्गका प्राविधिक कार्यसहित टेन्डरको तयारीमा जुटेका छौं ।’ प्रदेश सरकारले आर्थिक वर्ष ०७५र७६ देखि बर्सेनि नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरिसकेको छ ।
सुरुङमार्ग, एप्रोच सडक र तीनवटा पुल निर्माण गर्न १८ अर्ब ७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । चालु आर्थिक वर्षको अन्त्यसम्म परामर्शदाता र निर्माण कम्पनी छनोट गरिसक्ने लक्ष्य रहेको लामाको भनाइ छ । भीमफेदी गाउँपालिका–६ स्थित बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याममुनि ३ दशमलव २१ किलोमिटर लामो दुर्ई लेनको सुरुङ निर्माण गर्ने डिजाइन छ । सुरुङको चौडाइ १५ मिटरको हुने सिंहले बताए । सुरुङका दुवैतिर गरी साढे २ किलोमिटर लामो एप्रोच सडक र तीनवटा पुल निर्माण हुनेछन् । तिनको लम्बाइ २ सय १० मिटर मात्र हुने उनले जानकारी दिए ।
सम्झौता भएको ४२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको सुरुङमार्गले भीमफेदी–कुलेखानी सडक १७ किलोमिटर दूरी छोटिनेछ । हेटौंडाबाट राजधानी प्रवेश गर्ने उक्त छोटो दूरीको वैकल्पिक मार्ग ६५ किलोमिटरमा झर्नेछ । – इकान्तिपुरबाट
























