नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दुई अध्यक्षबीच भएको भेटपछि शनिबार ४ बजे सचिवालय बैठक बस्ने अनौपचारिक मिति तोकिएको थियो । तर शनिबार पनि बैठक बस्न सकेन ।
शनिबार भने आईतबार ४ बजे सचिवालय बैठक बस्ने औपचारिक निर्णय भएको थियो । तर प्रधानमन्त्री ओलीका सचिवालय सदस्यहरु र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजपनि बैठक बस्न नसकेको हो ।
नेकपाका अध्यक्षबीच मन्त्रीमण्डल पुनरगठन गर्ने वा केही मन्त्री मात्रै फेर्ने भन्ने बिषयमा विवाद छ । प्रधानमन्त्री समेत रहनुभएका केपी शर्मा ओली केही मन्त्री मात्रै फेर्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुरै मन्त्रीमण्डल परिवर्तन गर्ने पक्षमा हुनुहुन्छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गर्दै राजदुत र मुख्यसचिव नियुक्त गरेपछि नेताहरु असन्तुष्ट बनेका छन् ।
























