डा. केसीको पक्षमा मकवानपुरका साहित्यकार सडकमा उत्रिए
हेटौंडा । मकवानपुरका साहित्यकार तथा लेखकहरु डा गोविन्द केसीको पक्षमा सडकमा उत्रिएका छन् । नेपालको स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै १९ औं पटक आमरण अनसनरत डा गोविन्द केसीको पक्षमा मकवानपुरका साहित्यकार तथा लेखकहरु सडकमा उत्रिएका हुन् ।
मकवानपुरका साहित्यिक संस्थाहरुको साझा सञ्जाल सर्जक सञ्जालको आयोजनामा डा केसीको पक्षमा साहित्यकारहरु ब्यानर र पम्पेल्टसहित हेटौंडा बजारका विभिन्न स्थानमा ¥याली प्रर्दशन गरेका हुन् । साहित्य संगम मकवानपुरको भवन भैरवरोडबाट सुरु भएको ¥याली बजारको विभिन्न स्थान हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।
साहित्यकारहरुले केसीको पक्षमा प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिएको सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी दिए । उनका अनुसार डा गोविन्द केसी आमरण अनसनमा बसेको आज २४ औं दिन भएकोले प्रशासन कार्यालयमा २४ मिनेट धर्ना दिएको बताए ।
सञ्जालले धर्ना पछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।कार्यक्रममा साहित्य संगम मकवानपुर, आँचल साहित्य कला पुञ्ज, झरना साहित्य परिवार, गजल मञ्च, मातृभूमि साहित्य समाजलगायत संघसंस्थाको सहभागिता रहेको थियो ।
























