परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त
काठमाडौँ । भरतराज पौड्याल परराष्ट्र सचिवमा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको परराष्ट्र मन्त्रालयको सचिव पदमा पौड्याललाई नियुक्त गरेको हो ।
यसअघि परराष्ट्र सचिव रहेका शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि उक्त पद रिक्त बनेको थियो । परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएका पौड्याल वरिष्ठताको आधारमा सचिव नियुक्त हुनुभएको मन्त्रालय स्रोतले जनाएको छ । यसअघि उहाँ मन्त्रालयमा सबैभन्दा सिनियर सह(सचिव हुनुहुन्थ्यो । परराष्ट सचिवमा अन्य दुइ जनाको पनि नाम अगाडि आएको थियो, जसमा सेवा लम्साल र अमृतकुमार राईको नाम थियो ।
तर सरकारले वरिष्ठतालाई नै आधार मानेर पौड्याललाई सचिव नियुक्त गरेको हो । पौड्यालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा समेत काम गर्नुभएको छ । साथै उहाँले परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा रहेर काम गरेको अनुभव छ ।
























