काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । “तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ”, मौसमविद् अर्यालले भने । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ । मौसमविद्का अनुसार पानी पर्यो भने अझै जाडो बढ्छ । तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नाका साथै तराईका भूभागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री र अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*