आज पनि बागमती प्रदेशको पेट्रालियम ढुवानी अवरुद्ध
३१ जेठ, काठमाडौं । कोरोनाविरुद्धको खोप नपाएको भन्दै आन्दोलित ट्यांकर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानी दोस्रो दिन पनि अवरुद्ध गरेका छन् । उनीहरुले सोमबार पनि प्रदेशभर हुने आन्तरिक ढुवानी र बरौनी तथा अमलेखगञ्जबाट हुने ढुवानी रोकेको आयल निगमको बागमती प्रादेशिक डिपोले जनाएको छ ।
ढुवानीकर्ताको अवरोधका कारण आज पनि प्रदेशभरको आपूर्ति प्रभावित भएको थानकोट प्रादेशिक डिपो प्रमुख अभिषेक ठाकुरले बताए । ‘आज पनि पट्रोलियम उठेन, आन्दोलन लम्बिँदै गर्दा पेट्रोलियमको अभाव हुन सक्ने चिन्ता थपिएको छ,’ डिपो प्रमुख ठाकुरले भने ।खोपको व्यवस्था गर्न डिपो तथा केन्द्रिय कार्यालयबाट पहल भइरहेको भन्दै आन्दोलन रोक्न आग्रह गरे पनि सफल नभएको ठाकुरले बताए । स्वास्थ्य मन्त्रालय, विभाग तथा सीसीएमसीमा खोपका लागि पत्राचार भएको पनि उनले बताए ।
खोपको सुनिश्चिता नभएका कारण आन्दोलन जारी राखेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले जनाएको छ । निगमले अझैसम्म पनि खोप लगाउने व्यवस्था गर्न नसकेका कारण आन्दोलन रोक्न नसकेको संघका अध्यक्ष ईश्वर लामाले बताए । ‘हामीलाई ललिपप देखाएर आन्दोलन रोक्न खोजेका छन्, तर हामी मान्नेवाला छनौं, कुन दिन कहाँ गएर खोप लगाउने हो त्यो सुनिश्चित गरिनुपर्छ’ अध्यक्ष लामाले भने ।
अमलेखगन्ज र थानकोटमा गरेर झण्डै २२ सय चालक तथा सहचालकले खोप लगाउन बाँकी रहेको लामाको भनाइ छ ।

























