मनसुन थप सक्रिय, केही ठाउँमा ठूलो पानी पर्ने

असार १, काठमाण्डौ – अहिले मनसुन थप सक्रिय भएकाले देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बुलेटिन निकालेर अहिले भारतको झारखन्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको जनाएको हो ।

यसका कारण अहिले दिउँसो र राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने र गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही ठाउँमा भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । यी प्रदेशका पहाडी ठाउँमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसमविद्ले अबको तीन दिन लगातार पानी पर्ने पूर्वानुमान गरेका छन् । ‘गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*