सिन्धुपाल्चोकमा बाढीपहिरोः कम्तीमा सात जनाको मृत्यु
असार २,काठमाडौँ – (अपडेट) सिन्धुपाल्चोकको हेलम्बुमा गएको लेदोसहितको बाढी तथा पहिरोमा कम्तीमा सातजनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार हेलम्बुमा लेदोसहितको बाढी तथा पहिरोका कारण सातजनाको मृत्यु भएको पुष्टि भएको हो।
उनले भने, ‘अहिलेसम्म मानवीय हताहती सातजनाको भएको भन्ने पुष्टि भएको छ। यसअघि बेपत्ता भनिएकामध्ये केही सम्पर्कमा आएका छन्। लेदोसहितको बाढी देखेपछि सुरक्षाका लागि जंगल तिर गएकाहरु सम्पर्कमा नआउँदा बेपत्ता भएका हुन् कि भन्ने आशंका थियो। अहिले केही स्थानीयहरु सम्पर्कमा आएका छन्।’
लेदोसहितको बाढी तथा पहिरोले केही माछा फर्ममा क्षति गरेको पनि उनले बताए। सुरक्षा फौजका पोस्टहरु बगाएको र केही पुलमा समेत क्षति गरेको पनि उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘पानीको सतह केही कम हुन थालेसँगै बगाएको ठानिएका केही पुलहरु देखिन थालेका छन्। खोजी तथा उद्धारको काम जारी छ। विस्तृत विवरण संकलन हुँदैछ।’

























