बाढी पहिरोको कारण २४ घण्टामा ३ जनाको मृत्यु, ७ जना बेपत्ता
असार २,काठमाडौं – केही दिनदेखि लगातार आएको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरो गएको छ। पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङख्या तीन पुगेको छ।
सिन्धुपाल्चोक, बाजुरा र सल्लाहीमा बाढी पहिरोबाट एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन गर्न खटिरहेको छ। अहिलेसम्म ३ जनाको मृत्यु भएको जानकारी आएको छ, नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले भने।
त्यस्तै, बाढी पहिरोको कारण ७ जना मानिस बेपत्ता भएका छन्। सिन्धुपाल्चोकमा ६ र बाजुरमा १ जना मानिस बेपत्ता भएको एसएसपी कुँवरले जानकारी दिए। बाढी पहिरोको कारण सबैभन्दा धेरै सिन्धुपाल्चोक, मनाङ, बाजुरा, गुल्मी लगायतका जिल्लाहरु प्रभावित बनेका छन्।
अहिलेसम्म १ हजारभन्दा बढी मानिस विस्थापित भइसकेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलवार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की पुलहरुसमेत बगाएका छन्। त्यस्तै, मनाङको चामे लगायत क्षेत्रमा पनि बाढी पसेर मानिसहरु विस्थापित भएका छन्।
बाढीको कारण १९ घण्टादेखि टापुमा फसेका चार जना व्यक्तिको उद्धार गरिएको छ। प्रहरीले लमही बस्ने मन्सराम चौधरी, राजपुर २ बस्ने ५० वर्षीया सावित्री यादव, २६ वर्षीय राधेश्याम यादव र राजपुर ३ बस्ने २५ वर्षीय गणेश यादवको उद्धार गरेको जानकारी दिएको छ।
उनीहरू हिजो राति ९ बजेतिर टापुमा रहेको जानकारी पाएपछि सशस्त्र प्रहरी उद्धारमा जुटेको थियो।

























