अझै तीन दिन देशभर वर्षा हुने सम्भावना
काठमाडौं, असार ६ – जल तथा मौसम विज्ञान विभागले अझै तीन दिन देशभर वर्षा हुने जनाएको छ। केही स्थानमा अत्यधिक वर्षा हुने विभागको अनुमान छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव र दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले आइतबार बिहान देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रहेको छ। प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो र राति पनि देशभरको मौसम बदली रही अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। त्यस्तै, सोमबार दिउँसो देशभर मौसम बदली रही देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ।
सोमबार राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश २ का एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ। मंगलबार दिउँसो पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ।
मंगलबार राति देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै‚ लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

























