कास्कीमा पनि एक साता निषेधाज्ञा थप

असार ७, पोखरा । कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार असार ८ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताए । प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पाङ्ग्रे, दुई पाङ्ग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पाङ्ग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ ।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटिपार्लर, सैलनु, फुटपाथ पसललगायत सेवालाई निषेधाज्ञाको समयमा सञ्चालन अनुमति दिइएको छैन ।

यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । ढुङ्गा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनबाट बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*