चाँडो भन्दा चाँडो स्थायी बसोबासको व्यवस्था गर्ने हेलम्बुका अध्यक्षको दाबी

हेलम्बु, असार ७-  हेलम्बु (सिन्धुपाल्चोक) – बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पालिकाका बासिन्दाको तत्कालिक आवश्यकता पूरा गरेपछि स्थानीय बसोबासको व्यवस्थाको प्रक्रिया थाल्ने बताएका छन्।

अध्यक्ष शेर्पाले सोमबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै बाढी तथा पहिरोले मानवीयसँगै भौतिक क्षति भएको र स्थानीयहरु बिस्थापित हुन बाध्य भए पनि चाँडो भन्दा चाँडो स्थायी बसोबासको व्यवस्था गर्ने बताएका हुन्। उनले भने, ‘अहिले तत्कालका लागि जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा लैजाने र उनीहरुका लागि अत्यावश्यक सेवा प्रदान गर्ने तर्फ हाम्रो ध्यान केन्द्रित छ। अस्थायी आवासको टुंगो लागेपछि सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था तथा क्षति पुगेका भौतिक संरचना तथा पूर्वाधारको व्यवस्थापनमा लाग्ने छौँ।’

बाढीले गरेको क्षतिका कारण निराश भएका बासिन्दाको मनोभावना आफूले बुझेको बताउँदै उनले सहयोग तथा पुनर्स्थापनाका लागि वर्षौँ नलगाउने भन्दै सान्त्वना दिएका छन्। उनले भने, ‘गाउँपालिकाको बजेटले क्षति भएको संरचना र स्थायी आवासको काम पूरा हुँदैन। अहिले नै क्षतिको यकिन विवरण पनि आइसकेको छैन। तर मसँग आँट छ र संघ तथा प्रदेश सरकारले विपदमा परेको हेलम्बुलाई सहयोग गर्नै पर्छ।’

उनले संघ र प्रदेश सरकारसँग आफ्नो पालिकालाई के चाहिएको छ र कस्तो सहयोग खाँचो छ भनी सोधिदिन र सो अनुसार सहयोग गरिदिन आग्रह गरेका छन्। बाढीले गाउँपालिकाको विकासमा गम्भीर असर गरेको भए पनि पालिकालाई वर्षौँ पछिको अवस्थामा जान नदिन आफू प्रतिवद्ध रहेको उनले बताए।

बाढीले क्षति गरेका भौतिक संरचना तथा बाटाघाटा र पुलहरुको निर्माण तत्काल थालिने उनले बताए। उनले पालिकाको बजेट असार १० गते भित्र ल्याउनु पर्ने भए पनि बाढीका कारण केही पछि हुन सक्ने पनि बताए। तत्कालका लागि पालिकाको बजेट विपदपछिको राहत तथा पुनर्स्थापनाको काममा लगाउने योजना रहेको र संघ तथा प्रदेश सरकारसँग पनि सहयोगको अपील गरिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*