हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीनको मृत्यु, दुई घाइते
सुनसरी, असार १३ – पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका–८ नङ्खु टोलमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
आज (आइतबार) बिहान पौने ८ बजे भएको उक्त दुर्घटनामा दुई जना घाइते प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका-५ का २८ वर्षीय उदय साह, सोही मोटरसाइकलमा सवार मोरङ विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर-७ का ४० वर्षीय अक्षयकुमार गुप्ता छन्।
गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते भएका हायस चालक नुवाकोट विदुर नगरपालिका-१३ का ३५ वर्षीय विवश तामाङ र सोही गाडीका सहचालक २५ वर्षीय नारायण बत्स्यालको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हायसले पूर्व आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।
























