माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिँदै
असार २१, काठमाडौं । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सोमबार (आज) देखि औपचारिक रुपमा विद्युत उत्पादन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट रिमोटमार्फत उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
उनका अनुसार पहिलो युनिटको उत्पादित विद्युत् प्रधानमन्त्रीले राष्ट्रिय प्रसारणलाइनमा जोडेर उद्घाटन गर्नेछन् । “पावर हाउस युनिटलाई राष्ट्रिय प्रसारणलाइनमा सिन्क्रोनाइज गरेर प्रधानमन्त्रीले उद्घाटन गर्नुहुनेछ । ६ वटा युनिटमध्ये एउटा युनिटबाट ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ,” उनले भने ।
पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः उत्पादन हुनेछ । ४५६ मेगावाट नै विद्युत् भदौ मसान्तसम्म सक्ने शाक्यले बताए । यसअघि कार्यकारी निर्देशकसहितको टोलीले विद्युतगृहमा भइरहेको उपकरणहरुको परीक्षण, बाँधस्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसनलगायतको अनुगमन गरेको थियो ।
विद्युतगृहमा पहिलो युनिटको परीक्षण सफल भएपछि उत्पादित विजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्न लागिएको हो । आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।
























