चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्रीसहितका नेताहरुले भर्चुअल सम्वाद गर्ने

हेटौंडा, असार २१-  प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेपालका शीर्ष नेताहरुले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा त्यहाँका राष्ट्रपति सी जिङपिङसँग भर्चुअल संवाद गर्ने भएका छन्।

प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजागाईँका अनुसार ओलीसहित नेपालस्थित राजनीतिक दलका नेताहरुले चिनियाँ राष्ट्रपति सीसँग मंगलबार अपरान्ह भर्चुअल संवाद गर्ने कार्यक्रम तय भएको हो।

भर्चुअल संवादमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी हुनेछन्।

संवादमा सत्तारुढ नेकपा एमालेका अन्य नेताहरु पनि सहभागी हुने भएका छन्। चिनियाँ राष्ट्रपति सीले दक्षिण एसियाका अन्य मुलुकका नेतालाई पनि संवादमा बोलाएका छन्। नेपालका नेताहरुले पाँच मिनेटभित्र आफ्ना कुरा राख्ने भएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले गत साता भव्यपूर्वक बेइजिङमा कार्यक्रम गरेको छ। चीनले आफ्नो प्रभाव अझै बलियो बनाउन निकट छिमेकी र अन्य देशहरुसँग निरन्तर संवाद गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*