बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भोलिदेखि भेरोसेलको पहिलो डोज खोप दिइने
असार २८, काठमाडौं- सरकारले चीनबाट खरिद गरेको कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो डोज मंगलबार (भोलि) देखि लगाइने भएको छ।
परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मात्र भेरोसेल खोप लगाउन लागिएको हो।
यी तीन प्रदेशका ५५ वर्ष र सो माथिका उमेर समूहलाई पहिलो डोज लगाउन लागिएको उनले जानकारी दिए। भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्।
यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो डोज पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ।
























