साउन २ गते देखि मनसुन थप सक्रिय हुने , भारी वर्षा हुन सक्ने

३१ असार , हेटौंडा । मनसुनी गतिविधिसँगै अरु मौसमी प्रणालीको प्रभावका कारण अबको केही दिनमा तुलनात्मक रुपमा बढि पानी परि बाढीको जोखिम देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार जारी गरेको विशेष मनसुन बुलेटिनका अनुसार साउन २ देखि ४ गतेसम्म मनसुन थप सक्रिय हुने देखिएको छ ।

महाशाखाले भनेको छ, ‘हाल देशभर मनसुन सक्रिय अवस्थामा रहेको छ । साउन २ गतेदेखि ४ गतेसम्म मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने तथा बंगालको खाडीबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकोले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।’

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र धेरै भारी वर्षाको सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तराई क्षेत्रमा खोलाहरुमा पानीको बहाव बढ्ने तथा बाढीको जोखिम हुन सक्ने जनाइएको छ ।

यस्तै पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*