दोस्रोपटक कलेजो प्रत्यारोपण गर्न सफल भयो चितवन मेडिकल कलेज

चितवन । भरतपुरमा रहेको चितवन मेडिकल कलेजले दोस्रो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । जाजरकोट कुशे गाँउपालिका–९ का ४७ वर्षीय भरतबिक्रम शाहीको असार १८ गते दोस्रोपटक कलेजो सफल प्रत्यारोपण गरेको कलेजले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

उनलाई श्रीमती ४८ वर्षीया कमलादेवी शाहीले कलेजो प्रदान गरेकी थिइन । उनको झण्डै १५ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेको कलेजले जनाएको छ । यसअघि गत चैत ८ गते कलेजले काठमाडौं बाहिर पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो ।

कलेजका बिषेशज्ञ चिकत्सिकहरु सर्जन डा.सञ्जय कुमार यादव, डा.एकानन्द सिंह, डा.जयन्त कुमार शाख, हेपाटोलोजी डा. सागर पौडेल, डा.बरुण श्रेष्ठ, डा.किरण अधिकारी, डा.नविन यादव, डा.सुरेश गैतम, डा.विरेन्द्र राउत, रेडियोलोजिष्ट डा.दिपक अधिकारी, डा.सुवास ओझा, स्टाफ नर्स कमला क्षेत्री, प्रेङका पौडेल, सलिना तिवारी, सुमि कार्की, वर्षा लोहनी, प्रतिमा रेग्मी, अस्मिता भण्डारी, सुदिप देवकोटा, कृति चौधरी,अन्जु थापा, श्रृती यादव, नितु बस्नेत, सुष्मा भुजेल, अनिता भण्डारीलगायतको टिमले कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

प्रत्यारोपणमा भारतबाट चिकित्सकहरु डा।निरभ गोयलको टिमको समेत संलग्नता रहेको थियो । भरतबिक्रमलाई उनकी श्रीमतीको ६० प्रतिशत कलेजो ट्रान्सप्लान्ट गरिएको हो । डोनर कमलादेवीको स्वास्थ्यमा सुधारपछि असार २७ गते अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

भरतबिक्रमको स्वास्थ्यमा पनि सुधार हुँदै गएको अस्पतालले जनाएको छ । अहिलेकै गतिमा सुधार भए आगामी साता उनलाई पनि डिस्चार्ज गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

दुईदेखि तीन महिनामा दुबै जनाको कलेजोको अवस्थामा बृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाउने प्रत्यारोपणमा संलग्न चिकित्सक डा सञ्जय कुमार यादवले बताए । त्यसपछि उनीहरुले सामान्य जीवन विताउन सक्ने उनको भनाइ छ ।

काठमाडौंमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साताअघि चितवन मेडिकल कलेजमा आएको थिए । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बी’ र ‘सी’ स्टेज मध्य शाही सी चरणमा पुगेका थिए । ‘गत फागुनमा ‘सी’ चरणमा पुगेका चरणमा पुगेका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने थियो,पेटमा पानी भरिएको र ठूलो थियो’, चिकित्सक यादवले भने ।

अल्कोहलका कारण उनको कलेजो बिग्रिएको र हेपाटाइटिस ‘बी’ को समेत समस्या रहेको यादवले बताए । दैनिक १५ सय बढी बिरामी आउने चितवन मेडिकल कलेजमा प्रत्येक दिन ३० भन्दा बढीको शल्यक्रिया हुने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*