आज साउन महिनाको पहिलो सोमबार

काठमाडौँ – साउन महिनाको पहिलो सोमबार (आज साउन ४ गते) भगवान शिवको विशेष पूजा आराधना गरि शिवभक्तहरुले व्रत बसेर मनाउँदै छन्।

अघिल्लो वर्षझैँ यो वर्ष पनि कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउन खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयहरुमा निकै कम गएका छन्।

तर बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना भने भइरहेको छ। साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ।

सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ। भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ। चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो।

भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ। यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। तर अघिल्लो वर्षझैँ यो वर्ष पनि अधिकांश व्रतालूले घरमै बसेर आराधना गर्ने छन्।

साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको छ।

मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ। यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ। यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन्। यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ।

साउने सोमबार पशुपतिनाथ मन्दिरमा सामान्य अवस्थामा झण्डै एक लाख दर्शनार्थी पुग्ने गर्छन्। तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउन र मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

तर पशुपतिनाथ मन्दिरमा बाहिरैबाट भए पनि दर्शन गर्नेहरुको सामान्य घुइँचो लागेको छ। मन्दिर परिषरमा पस्न नपाए पनि बाहिरबाट गजुरको दर्शन गर्न दर्शनार्थीहरु भेला भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*