धेरै ठाउँमा बुधबारसम्म झरी पर्ने

काठमाडौँ । देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ । आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश–१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भएको मौसमविद्ले जनाएका छन् ।

नेपाल बाढी पूर्वानुमान महाशाखाले कोशी, नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाव बढ्न सक्ने जनाएको छ । विषेशगरी सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने तथा कर्णाली र यस्का सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने हुनाले सतर्क रहन अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*