अफगानिस्तानबाट आउने नेपालीहरुलाई आएलगत्तै पोलियोविरुद्धको खोप दिइने

काठमाडौँ – अफगानिस्तानबाट आएका नेपाललीहरुलाई पोलियो खोप दिइने भएको छ। स्वास्थ्य सेवा विभागले सोमबारदेखि नै अफगानिस्तानबाट आउने नेपालीहरुलाई आएलगत्तै पोलियोविरुद्धको खोप दिइने बताएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने,‘आजदेखि अफगानिस्तानबाट आउने नेपालीहरुलाई तत्काल पोलियोविरुद्धको खोप दिइने छ। यस अघि आएका र विभिन्न स्थानमा पुगेकाहरुको सन्दर्भमा भने पायक गर्ने खोप केन्द्रमा गएर लगाउन व्यवस्था गरिने छ।’

अफगानिस्तानमा पोलियो संक्रमण अझै हुने गरेको अवस्थामा त्यहाँबाट फर्किनेहरुमा पनि संक्रमणको जोखिम रहने हुँदा खोप लगाउने निर्णय गरिएको उनले बताए।

इन्टरनेशनल हेल्थ रेगुलेसन (आइएचआर) को सिफारिसमा खोप लगाइने भएको हो।

आइतबार बेलकासम्मको तथ्याङ्क अनुसार ५ सय ४ जना नेपाली अफगानिस्तानबाट फर्किएका छन्।

गएको हप्ता (अगस्ट १५)मा अफगानिस्तानको राजधानी काबुल तालिबानको नियन्त्रणमा गएसँगै अवस्था अस्तव्यस्त छ। कामका लागि अफगानिस्तान गएका नेपालीहरु फर्किने क्रम जारी छ।

विश्वका धेरै स्थानमा हाल पोलियो संक्रमण नरहेपनि अफगानिस्तान र पाकिस्तानमा भने अझै संक्रमण देखिने गरेको छ। पोलियोविरुद्धको खोप अभियान प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा संक्रमण रोक्न समस्या हुने गरेको विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ।

नेपाल २०७० मा पोलियो मुक्त घोषित भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*