संखुवासभा हत्याकाण्ड – छिमेकी एक युवक पक्राउ
काठमाडौँ । संखुवासभाको मादी नगरपालिका– १ मा भएको ६ जनाको वीभत्स हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
एकै परिवारका ६ जनाको ज्यान गरी भएको समूल हत्याकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले आज ९शनिबार० बिहान छिमेकी घरकै एक २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक हत्या गरिएका घरमूली बुद्धमान कार्कीको भतिजो नाता पर्ने रहेका छन् । प्रहरीले औपचारिक रुपमा भने आरोपीलाई सार्वजनिक गरेको छैन । आइतबारसम्म सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ ।
पक्राउ परेका व्यक्तिको घरमा रगतको टाटा लागेको सर्ट र हत्यामा प्रयोग भएको रड भेटिनुले उनी शंकाको घेरामा थिए । अब उनको सर्टमा लागेको रगत र हत्या भएका व्यक्तिको डिएनए म्याचिङ ९परीक्षण० गरेपछि मात्रै प्रहरीले उनको संलग्नता पुष्टि हुने र अनि मात्र सार्वजनिक गरिने बताएको छ ।
स्थानीयहरुका अनुसार पक्राउ परेका व्यक्तिको मानसिक अवस्था कमजोर रहेको पाइएको छ । उनी केही समयदेखि औषधि सेवन गरिरहेको समेत प्रहरी स्रोतको दाबी छ ।
अहिलेसम्म हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको पाइएको र घटनाको अनुसन्धान लगभग अन्तिम अवस्थामा रहेको जनाइएको छ ।
गत सोमबार बुद्धमान कार्की, उनकी श्रीमती ८४ वर्षीय पार्वता कार्की, ५८ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, बौद्धमानकी नातिनि बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षका पनाती दीपेन कार्की र ७ वर्षीया पनातिनी गोमा कार्कीको घरभित्रै हत्या भएको अवस्थामा भेटिएका थिए ।
























