हेटौँडा अस्पतालको सुधारका लागि मकवानपुर जागरण अभियानको चासो
मकवानपुर, २३ असार । मकवानपुरको हेटौँडा अस्पतालमा चरम लापरवाही र बेथिति भएको भन्दै सुरु भएको अस्पताल सुधार अभियानमा मकवानपुर जागरण अभियानले ऐक्यवद्धत्ता जाहेर गरेको छ । संस्थाका अध्यक्ष कृष्णराज कोईरालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा हेटौँडामा रहेका सचेत युवाहरुको समुह (सार्वजनिक सेवा सुधार संघर्ष समिति) ले अस्पताल सुधारको लागि गरेको न्यायिक संघर्षमा संस्थाको पूर्ण साथ र समर्थन रहेको बताइएको छ ।
‘‘हेटौँडा अस्पतालमा चरम लापरवाही र बेथितिका कारण दैनिक जसो सयौंको संख्यामा आउने बिरामीले भोग्नु परेको सास्ती र हैरानीका विरुद्दमा हेटौँडामा रहेका सचेत युवाहरुको समुह (सार्वजनिक सेवा सुधार संघर्ष समिति) ले अस्पताल सुधारको लागि गरेको न्यायिक संघर्षमा हाम्रो सँस्था मकवानपुर जागरण अभियानको समेत पूर्ण रुपमा साथ र समर्थन रहेको व्यहोरा यसै प्रेस वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौँ ।’’ विज्ञप्तिमा लेखिएको छ ।
हेटौंडा अस्पतालमा कार्यरत डाक्टर, नर्स, टेक्निसियन र कर्मचारीको लापरवाही र हेलचेक्य्राइँको कारण दैनिक बिरामीले भोग्नु परेको सास्ती र हैरानीका विषयमा मकवानपुरको राजनैतिक दल, स्थानीय र प्रदेश सरकार तथा नागरिक समाज, मानव अधिकारवादी संघसँस्थाहरुले समेत कुनै किसिमको चासो नदेखाउनु निकै नै गम्भिर र दुःखद पक्ष भएको भन्दै विज्ञप्तिमा सरोकारवाला निकायहरु मौन बस्नु निन्दनिय भएको समेत दाबी गरिएको छ ।
विज्ञप्तिमा अगाडि लेखिएको छ–‘हेटौंडा अस्पताललाई सुव्यस्थित र नमूना अस्पताल बनाउन नागरिक समाज, स्थानीय सरकार, राजनैतिक दल, मानव अधिकारवदी संघसँस्था र सबै पक्षले आ–आफ्नो क्षेत्रबाट खबरदारी गर्नुहुन र हेटौँडा अस्पताल सुधार गरी सर्वसाधारण जनताको स्वास्थ्यमा ध्यान दिन मकवानपुर जागरण अभियान सबैमा हार्दिक अपिल गर्दछ ।’

























