प्रचण्ड–बाबुरामबिच एउटै चुनाव चिह्नमा लड्ने ‘सहमति’

काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् ।

दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ । आइतबार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ ।

नेसपाका अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका छन् । यसबारे आ–आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको भन्दै यादवले भने, ‘उहाँहरुको चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ, त्यसैले उहाँहरु ९माओवादी० कै चुनाव चिह्नमा जाने सम्भावना छ ।’

माओवादी नेताहरुका अनुसार नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । नेसपाका अध्यक्ष यादव भन्छन्, जोजो जितेको छ, त्यो त पाउने नै भयो । यसबारे हाम्रो उपस्थिति हेरेर प्रतिनिधिसभा र प्रदेशमा कति गर्न सकिन्छ हेर्ने हुन्छ होला ।’

नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

जसपामा असन्तुष्ट रहेका कतिपय सांसद पनि आफूहरुको सम्पर्कमा रहेका नेसपाका नेताहरु बताउँछन् । नेकपाका एक पदाधिकारीका अनुसार भोलि साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको छ ।

तीन नेताबीच भएको भेटमा सत्तारुढ गठबन्धनमा नेसपाको सहभागिताबारे पनि कुराकानी भएको थियो । ‘हामी यो गठबन्धनको संस्थापक हौं, त्यसैले गठबन्धनमा हाम्रो हक लाग्छ,’ नेसपाका अध्यक्ष यादव भन्छन्, ‘यसका लागि वातावरण बनाउन हामीले आग्रह गरेका छौं, उहाँ सकारात्मक हुनुहुन्छ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*