चुनावपछि गठबन्धन एक ठाउँमा रहने के ग्यारेन्टी छ ? – गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावपछि सत्तारुढ गठबन्धन एक ठाउँमा रहने के ग्यारेन्टी छ भनी प्रश्न गरेका छन् ।
कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनमा उनले अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि चुनावपछि पनि गठबन्धन कायम रहने ग्यारेन्टी नभएको बताए ।
‘हामी तालमेल गरेर चुनावमा भोट त मागौंला तर चुनाव भएको ६ महिनामा एउटा एकातिर अर्को अर्कोतिर हिँड्दैन भन्ने के ग्यारेन्टी छ ? ’ उनले प्रश्न गरे ।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर पार्टी एकीकरण नै गरे पनि पछि अलग भएको स्मरण गर्दै उनले यो चुनावपछि पनि त्यस्तै हुन सक्ने बताएका हुन् ।
चुनावअघि भन्दा चुनावपछिको तालमेल उपयुक्त हुने भए पनि चुनावअघि नै तालमेल गर्ने पार्टीको निर्णय भएकाले मान्नुपर्ने थापाले बताए ।
‘चुनावअघि तालमेल गर्न हुँदैन भन्ने कुरा ठीक हो । तर हामीले तालमेल गर्न हुँदैन भनेर के गर्ने अर्कोले गरिदिहाल्छन्’ उनले भने, ‘निर्वाचनअघि तालमेल नगरेपछि हाम्रो स्थिति के हुन्छ रु २०७४ सालमा भोगेर आइसक्यौं ।’
पार्टीका कतिपय नेताहरूले निर्वाचनपछि तालमेल गर्ने कि नगर्ने भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन भनेपछि पार्टीको निर्णय मानेको थापाले बताए । ‘पार्टीमा आफ्नो विचार राख्ने, आफ्नो विचारलाई पार्टीको विचार बनाउन खोज्ने र सम्भव नभए पार्टीको निर्णय मानेर जाने हो’ उनले भने ।
चुनावअघि तालमेल गर्दा दलहरुबीच न्यूनतम विषयमा भने साझा धारणा हुनुपर्ने महामन्त्री थापाले बताए ।
‘तालमेल गरेर एक ठाउँमा बसेको छ, प्रत्येक विषयमा चाहे विदेश नीतिको विषय आयो भने एउटाले अर्कोलाई दलाल भन्ने । दलाल पनि भनेको छ सँगै पनि बसेको छ’ उनले भने ।
न्यूनतम कुरा पनि मिल्दैन भने चुनाव जित्न मात्र तालमेल गर्न न हुने थापाले बताए ।
तालमेल गर्दा पार्टीहरुको जनमत पनि हेर्नुपर्ने उनले बताए । अमुक पार्टीको २ हजार मत छ, नेपाली कांग्रेसको २० हजार छ । ‘२० हजारमा २ हजार खन्याएर २२ हजार बनाउन सजिलो हुन्छ तर २ हजारमा २० हजार जोड्दा सबै जाँदैन, चुहिन्छ’ उनले भने ।
गठबन्धनमा सिट बाँडफाँट गर्दा ०७४ सालमा जितेको ठाउँलाई मात्र आधार मान्न नहुने थापाले बताए । ‘यो बाटोतिर गयो भने पार्टीभित्र ठूलो असन्तुष्टि आउँछ’ उनले भने ।
























