गुणस्तरीय स्वास्थ्यलाई सरकारको प्राथमिकतामा छ – प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताए ।

“समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ”, प्रधानमन्त्री देउवाले भने । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उनले उल्लेख गरे । उनले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पुर्याउन काम गरिरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएको उल्लेख गर्दै उनले निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घको महत्वपूर्ण भूमिका हुने बताए । सरकारले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको उनले बताए ।

कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्वका लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा कांग्रेस नेता डा।शेखर कोइरालाले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*