बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुन्छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।

प्रचण्डले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

संविधान जारी भएपछि बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको र आफूले नेकपा एमालेसँग एकताको छुट्टाछुट्टै प्रयोग गरेको तर ती दुबै व्यवहारतः सफल नभएको भन्दै प्रचण्डले अब फेरि बाबुरामसँग मिल्ने बताए ।

प्रचण्ड र बाबुराम एक ठाउँमा हुँदा लाखौं करोडौं जनता एक ठाउँमा हुने उनले बताए । ‘प्रचण्ड, बाबुराम यो कुनै दुईटा नाममात्र भएर परिवर्तन भएको होइन । यो इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरुले पैदा गरेको नामहरु हुन् यी’ प्रचण्डले भने, ‘उनीहरु ९प्रचण्ड र बाबुराम० एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु फेरि एकतावद्ध भएर नयाँ यग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ ।’

प्रचण्ड र बाबुराम इतिहासले पैदा गरेको नेतृत्वहरु र युगान्तकारी भूमिका खेल्ने नेताहरु भन्दै प्रचण्डले उनीहरु अलग हुँदा कसरी आन्दोलन नै नराम्रोसँग धक्का खाँदो रहेछ र क्रान्तिकारीहरु हेपिँदा रहेछन् भन्ने अहिले भोगिरहेको प्रचण्डले बताए ।
आफ्नो र बाबुरामको बानी व्यवहार आपसमा नमिल्ने भन्दै प्रचण्डले दुबै एक ठाउँमा हुँदा एउटाको अभाव अर्कोले पूर्ति गर्ने गरेको बताए ।

‘हाम्रो जीवनको धेरै वर्ष बाँकी छैन । हामीले हिसाब गरेकाछौं । बढी भए एक दशक’ उनले भने, ‘एक दशक विकासको नयाँ मोडल दिएर खुशीसाथ संसारबाट विदा हुने सपना बनाएका छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*