सर्वोच्च खुला, तर बन्दी प्रत्यक्षीकरणको रिट शून्य

काठमाडौं । बन्दी प्रत्यक्षीकरण लगायतको मुद्दा हेर्नुपर्ने भन्दै दसैँ बिदामा समेत सर्वोच्च खुले पनि बन्दीको रिट भने करिब करिब शून्य रहेको छ । सर्वोच्च अदालतमा असोज १४ र १६ गते बन्दी प्रत्यक्षीकरणको एउटा पनि रिट आएको छैन ।

असोज ९ गते नियमितरुपमा अदालत खुली असोज १० गतेबाट बिदा भएको भए पनि शनिवारबाहेक सर्वोच्च अदालत खुला नै छ । तर बन्दी प्रत्यक्षीकरणको रिटका लागि असोज ११ गते योगेन्द्र तामाङको तर्फबाट रिट आए पनि त्यसपछि कुनै रिट आएको छैन । असोज ११ गतेको पेशीमा योगेन्द्र तामाङको तर्फबाट निजकी श्रीमती सुनाम तामाङ मोक्तानले रिट ल्याएकी थिइन् । उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले जिल्ला प्रहरी परिसर टेकुका नाममा कारण देखाऊ आदेश जारी गरेका थिए ।

जिल्ला प्रहरी परिसर टेकुबाट जवाफ आएपछि असोज १३ गतेको पेशीमा न्यायाधीश डा। आनन्दमोहन भट्टराईले रिट खारेज गर्दै थुनामुक्त गर्नु नपर्ने आदेश दिएका थिए । त्यसपछि असोज १४ र असोज १६ गतेको पेशीमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छैन ।

सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार अहिले बन्दी प्रत्यक्षीकरणको रिट नै नआएको कारण पेशीमा नचढेको हो । रिट दर्ता भएको अवस्थामा भने दर्ता भएको भोलिपल्ट पेशीमा चढेर सुनुवाइ हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*