बागमतीका ९ जना मन्त्री बने उम्मेदवार
काठमाडौं । बागमती प्रदेशका १८ जना मन्त्रीमध्ये ९ जना आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका छन् । बाँकी ९ मन्त्री भने उम्मेदवार बन्ने अवसरबाट वञ्चित भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे प्रदेशसभा छाडेर प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट संघीय संसदका लागि धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका हुन् ।
बहालवाला मन्त्रीमध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अधिकांश फेरि उम्मेदवार बनेका छन् । माओवादी केन्द्रबाट प्रदेशको मन्त्री बनेका ५ जना मध्ये ४ जना यस पटक पनि उम्मेदवार बनेका छन् । त्यस्तै एकीकृत समाजवादीबाट मन्त्री बनेका ५ जनामध्ये ४ जना फेरि उम्मेदवार बनेका छन् ।
प्रदेश सरकारमा सबैभन्दा धेरै मन्त्री रहेको कांग्रेसले आगामी निर्वाचनमा भने थोरैलाई मात्र उम्मेदवार बनाएको छ । कांग्रेसका ८ जना मन्त्रीमध्ये ७ जना उम्मेदवार बन्न सकेनन् ।
























