लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको छ – वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा प्रजातन्त्रको स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा यहाँ आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको छ भने।

वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए। गाउँमा विकास र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो भन्दै नेता पौडेलले विदेशिने युवा शक्तिलाई स्वदेशमा बस्ने वातावरण बनाउनुपर्ने बताए।

गठबन्धन सत्ताका लागि नभई देशमा सुशासन कायम गर्न, प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न भएको उनले बताए। देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढिएको उनले बताए।

सो अवसरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुवै राजनीतिक दलका कार्यकर्ता इमान्दार भएर लागेको अवस्थामा जीत सुनिश्चित रहेको बताए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदेश आन्तरिक मामिलामन्त्री डोवाटे विक, समानुपातिक उम्मेदवार श्यामकुमार मौरती लगायतका वक्ताले गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*