नेकपा माओवादीसहित तीन दलहरुले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । संसदीय निर्वाचन नजिकिदै जाँदा दलहरुले चुनावी प्रचारप्रचार तीव्र बनाएका छन् । यसै क्रममा आज तीन राजनीतिक दलले चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन् । माओवादीले केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे, एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे र राप्रपाले बिहान साढे ११ बजे बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्ने जनाएका छन् ।

माओवादी पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले घोषणापत्रमा शासकीय स्वरूप परिवर्तनको विषय मुख्य रूपमा उठान गरिएको बताए । नेकपा माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको उनको भनाइ छ । उक्त दलले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको हो ।

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत विश्वव्यापी मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम बनाउनेमा घोषणपत्रले जोड दिएको छ । घोषणापत्रमा राजनीति र आर्थिक आवश्यकता हासिल गर्न लिइनुपर्ने नीतिगत व्यवस्था तथा विश्वव्यापी मुद्दालाई सम्बोधन गर्न चाल्नुपर्ने कदमका बारेमा उल्लेख गरिएको छ ।

उनले भने ‘मूलरुपमा अहिलेको संविधानमाथि विभिन्न रुपमा आक्रमण भइरहेको छ, संविधानको कार्यान्वयन गराउने र संघीयतालाई प्रभावकारी बनाउने विषयलाई घोषणापत्रमा प्राथमिकता दिइएको छ । संविधानको रक्षा र संविधानप्रदत्त अधिकारलाई कानुनी र व्यावहारिक रुपमा लागू गराउने प्रतिबद्धता व्यक्त गरिएको छ । जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य, मर्यादित रोजगारीको वातावरण बनाउने, प्राविधिक र जीवनमैत्री शिक्षा सुलभरुपमा उपलब्ध गराउने विषय घोषणापत्रमा समावेश छ ।’

मुलुकमा बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न कृषि क्षेत्रमा उत्पादन बढाउन घोषणापत्रले जोड दिएको छ । लगानी मैत्री वातावरण निर्माण गर्ने, कृषि क्षेत्रमा प्रविधिको प्रयोगलाई बढवा दिने र जनशक्तिको यथोचित प्रयोग गरेर उत्पादन वृद्धि गर्ने पनि घोषणापत्रमा उल्लेख छ । उत्पादन वृद्धि गरेर चुलिएको व्यापार घाटा कम गर्ने माओवादीको योजना छ ।

बदलिँदो विश्वपरिवेशमा निजीकरण तथा सूचना प्रविधिको प्रयोगलाई अंगीकार गर्दै विज्ञान प्रविधिमा लगानी वृद्धि र उपयोगमा जोड दिने नीति घोषणापत्रमा राखिएको सदस्य साहले जानकारी दिए । पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोड्ने, छिमेकीसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आपसी विश्वास बढाउने योजना घोषणापत्रमा समावेश छ ।

जलवायु परिवर्तनले ल्याएको विश्वव्यापी असर न्यूनीकरणका विषय पनि घोषापत्रमा समावेश गरिएको छ । संघ प्रदेश र स्थानीय तहको समन्वयमा विपद् न्यूनीकरण र पुनःस्थापना गर्नुपर्ने, जवलायु अनकूलनसम्बन्धी नीति बनाउनुपर्नेमा जोड दिएको छ । यही कात्तिक १४ गते पार्टी मुख्यालयमा आयोजना गरिने कार्यक्रम घोषणापत्र सार्वजनिक गर्ने माओवादीको तयारी छ ।

उक्त पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयारी गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकन्तवमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत, सचिव साह र लीलामणि पोखरेल, नेत्री अमृता थापा, विज्ञका रुपमा मीनबहादुर श्रेष्ठ, हरि रोक्का, जाकिर हुसेन र पर्शुराम रम्तेललगायत सदस्य रहेका छन् ।

यस्तै एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ मूल नारा तय गरेको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता विषय घोषणापत्रको प्राथमिकतामा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*