जसपाको घोषणापत्र सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले आज आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा जसपाले आर्थिक एजेन्डालाई समेत प्राथमिकतामा राखेको छ । सन् १९५० यता आधुनिक नेपालको सात दशकमा नेपाली राजनीतिले धेरै चरण पार गरेपनि आर्थिक क्षेत्रले परिवर्तनको आभास गर्न नपाएको जसपाको ठम्याइछ । यस्तै, सन् २०१५ मा संविधान बनेपछि समेत आर्थिक विकासमा देश चुकेको जसपाको घोषणापत्रमा उल्लेख छ ।

आगामी निर्वाचन जितेपछि भने आर्थिक विकासको मुख्य लक्ष्य र उद्देश्य लिने जसपाले घोषणा गरेको छ । जसपाले आर्थिक बृद्धिदर उच्च राख्न पूँजी निर्माण तथा परिचालन, नयाँ प्रविधिको उपयोग र विकासका साथै विभिन्न रूप र स्थितिमा रहेका उत्पादक शक्तिहरूको क्षमता विकास एवं प्रभाव विस्तारमा जोड दिने घोषणापत्रमा उल्लेख छ ।

यस्तै, निर्यातभन्दा १० गुणा बढी आयात भइरहेको परिप्रेक्ष्यमा तुलनात्मक लाभ भएका उद्योगको क्षेत्रमा लगानी बढाउन राष्ट्रिय उद्योगीहरूलाई प्रोत्साहन दिने, देशको स्रोत साधनमा आधारित निकासीको अभिवृद्धि गरी बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्ने लगायतका विषयलाई जसपाले घोषणापत्रमा समेटेको छ । यसका साथै, जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्ति जस्तो महत्वपूर्ण स्रोत साधनहरूको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्‍याउनका लागि विकासका पूर्वाधार तयार गर्ने समेत जसपाले घोषणा गरेको छ ।

विकास योजनाहरू तर्जुमा गर्दा तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माण गर्न जोड दिने र यसका लागि ५ वर्ष, १० वर्ष र २५ वर्षको योजना तर्जुमा गर्ने घोषणापत्रमा लेखिएको छ । यस्तै, कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थीर पूँजीको रूपमा विकास गर्ने, पाँच वर्षमा निरन्तर २ अङ्कको आर्थिक वृद्धि हासिल गर्ने र प्रति व्यक्ति आय ५ हजार डलर पुर्याउने लगायतका आर्थिक योजना समेत जसपाले घोषणापत्रमा समेटेको छ ।

यस्तै, जसपाको घोषणापत्रमा कृषि क्षेत्रको विकासका लागि भूमि सुधार, आधुनिक कृषि खेती लगायतका योजना समेटेको छ । परम्परागत कृषि खेतीलाई विस्थापन गर्दै आधुनिक खेती प्रणाली अंगीकार गर्नतर्फ जोड दिने जसपाले घोषणापत्रमा लेखेको छ । यसैगरी, उद्योग तथा खानीतर्फ समेत योजना बनाएको जसपाले वाणिज्य र आपूर्तितर्फ समेत ठोस योजना उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*