आफैंले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लंघन गरेः आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको बताएको छ ।

आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रुपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट पार्नुभएको हो । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन भएको, धाँदली भएको र मतपेटीका हराएको लगायत घटनाहरुको दृष्टान्त दिंदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएपछि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

उहाँले राजनैतिक दल र सरोकारवालाहरुसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमान्दारीता देखाउनुपर्नेमा पनि जोड दिनुभयो । आचारसंहीता राजनैतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्तावेज भएको र त्यसमा राजनैतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिवद्धता जनाएकाले प्रतिवद्धताप्रति दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क उहाँले गर्नुभयो । उहाँले निर्वाचन व्यवस्थापनको विषय कठिन भएपनि आफूहरुले चुनौती नभई अवसरको रुपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागू गर्ने कुरामा आयोग सधै निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पार्नुभयो ।

निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले स्वतन्त्र, निष्पक्ष, भयरहित र सर्वस्वीकार्य निर्वाचन गराउने सवालमा आयोग प्रतिवद्ध रहेको र सोही अनुसार आफ्ना काम कारबाही अघि बढाएको पनि स्पष्ट पार्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*