भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा
भक्तपुरमा । भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभयो ।
जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताउँदै उहाँले मतदानस्थल तयार पार्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । प्रजिअ शर्माले भन्नुभयो, “शान्ति सुरक्षाको पूर्णरूपमा सुनिश्चितता गरेका छौँ, भक्तपुरमा भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेका छौँ, त्यसका लागि आवश्यक तयारी पूरा भएको छ, निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्दछु ।”
प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा दुई सय २२ मतदान केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । कर्मचारीका लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ ।
निर्वाचनका लागि भक्तपुरमा एक हजार सात सय ७६ निर्वाचन कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी खटाएको जानकारी दिँदै उहाँले निर्वाचनमा आठ सय ८६ म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी दुई हजार दुई सय १८ सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र तीनदेखि पाँच जनासम्म स्वयंसेवक खटिनेछन् ।
निर्वाचनको दिन कर्मचारीमा कुनै समस्या नआओस् भनेर अतिरिक्त १० प्रतिशत कर्मचारी थप तयारी अवस्थामा तालिम दिएर राखेको उहाँले जानकारी दिनुभयो । भक्तपुरमा कुल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेका छन् । भक्तपुरका कुल मतदातामध्ये महिला ९९ हजार सात सय ५१, पुरुष ९४ हजार छ सय ८३ र अन्य पाँच जना रहेका छन् ।
भक्तपुरका कुल मतदान केन्द्रमध्ये १० वटा अपाङ्गतामैत्री रहेको प्रजिअ शर्माले बताउनुभयो । जसअन्तर्गत भक्तपुर नपामा पाँच, सूर्यविनायकमा तीन र मध्यपुरथिमि तथा चाँगुनारायण नपामा एक–एक वटा केन्द्रलाई अपाङ्गतामैत्री बनाइएको छ ।
























