निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपतिको आह्वान
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेकी छन्।
शनिबार एक सन्देश जारी गरी राष्ट्रपति भण्डारीले मतदान नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेकी हुन्।
उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग‚ सुरक्षा निकाय‚ राष्ट्रसेवक तथा सम्बद्ध सबैमा अपिल गरेकी छन्।
‘निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशःजनउत्तरदायी हुँदै जान्छ,’ सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्,‘यसबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शिता स्थापित गर्न मद्दत पुग्दछ।’
आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको प्रमाणित गर्ने राष्ट्रपतिको भनाइ छ।
























