कांग्रेस सुदूरपश्चिममा पहिलो दल बन्यो
सुदूरपश्चिम । मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।
प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ ।
सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका दुई मन्त्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल रहनुभयो । विसं २०४८ यता भएका निर्वाचनमा देउवा विजयी हुँदै आउनुभएको छ ।
दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी हुनुभयो । उहाँले एमालेका नेता गणेशसिंह ठगुन्नालाई पराजित गर्नुभयो ।
बडू यसअघि विसं २०७४ मा भएको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
यसैगरी श्रम तथा रोजगारमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का नेता शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा रहनुभयो । नेकपा एमाले र तत्कालीन नेकपामा आएको विभाजनसँगै उहाँ नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गर्नुभएको थियो ।
नेपाली कांग्रेसबाट डडेलधुरामा प्रधानमन्त्री देउवा, कञ्चनपुर ३ बाट रमेश लेखक, कञ्चनपुर २ बाट एनपी साउँद, कैलाली ४ बाट वीरबहादुर बलायर, कैलाली ५ बाट डिल्लीराज पन्त, दार्चुलाबाट उद्योगमन्त्रीसमेत रहेका बडू र अछाम २ बाट पुष्पबहादुर शाहसहित सात जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
यस्तै नेकपा ९एकीकृत समाजवादी०बाट अछाम १ मा श्रममन्त्रीसमेत रहनुभएका कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेमगर निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र २ मा अरुण चौधरी र क्षेत्र ३ मा गङ्गाराम चौधरी प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । टीकापुरको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।
























