काे बन्लान् अबका राष्ट्रपति र उपराष्ट्रपति ?
काठमाडाैँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ । अब समानुपातिक तर्फको मात्रै मत परिणाम आउन बाँकी छ ।
प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रहरु ५ जनाले चुनाव जितेका छन् ।
त्यस्तै प्रदेश सभातर्फ पनि नेपाली काँग्रेस प्रत्यक्षतर्फ १११, नेकपा एमाले ९१, नेकपा (माओवादी केन्द्र) ५३, नेकपा (एकीकृत समाजवादी) १५, जनता समाजवादी पार्टी १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९, नागरिक उन्मुक्ति पार्टी ५, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी ७, हाम्रो पार्टी नेपाल १ र १२ जना स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् ।
समानुपातिकतर्फ भने नेकपा एमाले हालसम्म पहिलो स्थानमा छ भने दोस्रोमा नेपाली काँग्रेस, त्यसपछि क्रमशः माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) रहेका छन् ।
निर्वाचनको सम्पूर्ण नतिजा नसकिँदै भावी सरकारको नेतृत्व कसले गर्छ भन्ने कौतुहलता बढेको छ । निर्वाचनको परिणाम अनुसार कुनैपनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ । जसकारण पनि नयाँ सरकारको नेतृत्वको चासो र चिन्ता आम नागरिकमा उत्तिकै बढेको छ । साथसाथै राष्ट्रपति र उपराष्ट्रपति को बन्ला भन्ने चासो आम मानिसमा छ । यिनै प्रमुख दलहरूबीचबाट राष्ट्रपति र उपराष्ट्रपति चुनिनेछन् ।
























