प्रदेश प्रमुखलाई निर्वाचन आयोगले बुझायो प्रतिवेदन

हेटौंडा । निर्वाचन आयोगले बागमती प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुख समक्ष बुझाएको छ ।

आयोगका सचिव गोकर्णमणी दुवाडीले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई ४ मंसिरमा सम्पन्न निर्वाचनको प्रतिवेदन बुझाएका हुन् ।

आयोगले प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो ।

योसँगै अब प्रदेशमा नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ ।

११० प्रदेशसभा सदस्य रहेको बागमतीमा यसपटक कुनैपनि पार्टीले स्पष्ट बहुमत प्राप्त गर्न सकेको छैन् ।

४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा प्रत्यक्ष र समानुपातिकसहित गरेर सत्ता गठबन्धनको नेपाली कांग्रेस ३७ सिटसहित पहिलो पार्टी बनेको छ भने नेकपा एमाले २७ सिटसहित दोस्रो पार्टी बनेको छ ।

यसैगरी नेकपा माओवादी २१ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी १३ सिट, नेकपा एकीकृत समाजवादी ७ सिट, नेपाल मजदुर किसान पार्टीले ३ सिट र हाम्रो नेपाली पार्टीले २ सिट प्राप्त गरेको छ ।

२०७४ मा भएको पहिलो प्रदेशसभा निर्वाचनमा एमालेले ५८ सिटसहित बहुमत प्राप्त गर्दै सरकार बनाएको थियो । तर यसपटक कुनैपनि पार्टीले बहुमत प्राप्त गरेको छैन् ।

कुनै पनि पार्टीले स्पष्ट बहुमत प्राप्त नगर्दा सत्ता गठबन्धनले नै सरकार बनाउने अवस्था देखिएको छ । सरकार बनाउनको लागि ५६ आवश्यक पर्नेमा गठबन्धनको कांग्रेससँग ३७ सिट, माओवादीसँग २१ सिट र नेकपा एकीकृत समाजवादी ७ सिट गरेर ६५ सिट रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*