कांग्रेसको संसदीय दलको नेतामा देउवासहित तीन नेताको प्रतिस्पर्धाको सम्भावना
काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन बुधबार दिउँसो हुँदैछ। यही मंसिर ४ गते सम्पन्न निर्वाचनमार्फत् मुलुकको पहिलो दल बनेको कांग्रेसमा संसदीय दलको नेता कसलाई चयन गर्ने भन्ने विषयले माहोल तातेको छ।
कांग्रेसभित्र रहेका दुई पक्ष संस्थापन र इतर दुवैबाट संसदीय दलको नेता चयनका लागि कसरत जारी छ।
आफ्नो पक्षबाट संसदीय दलमा एउटामात्रै उम्मेदवार बनाउन शेखर गगनपक्ष आज पनि बिहानैदेखि छ्लफलमा छ। भोलि बुधबार दिउँसो २ बजे निर्वाचन भएका कारण यी दुई नेताले छलफललाई तीव्रता दिएका हुन्।
दुई नेता अहिले पनि छ्लफलमा छन् तर प्राप्त स्रोतका अनुसार दुवै नेताबीच सहमति जुटेको छैन। आज बिहान ११ बजे शेखरले आफू पक्षीय केन्द्रीय सदस्यहरूको अनौपचारिक भेला बोलाएका छन्।
यता संस्थापन पक्षबाट पनि कसलाई चुन्ने भन्नेबारे छलफल चलिरहेको छ। प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासमेत आफैँ संसदीय दलको नेता बन्ने दौडमा देखिन्छन् भने केही नेताहरू संस्थापन र इतर दुवै पक्षबाट सहमतिमै एउटालाई संसदीय दलको नेता चयन गर्नुपर्ने धारणा राख्छन्।
























