गठबन्धनको बैठक छाडेर बालकोट लागे प्रचण्ड

 काठमाडौं । सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, ‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएर गठबन्धन चाहिंदैन भनेजसरी घोषणा गरेपछि कुरा मिलेन ।’

बालुवाटारमा कुरा नमिलेपछि प्रचण्ड बालकोटतर्फ लागेका छन् ।

बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् । एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने कांग्रेसको अडानपछि गठबन्धन संकटमा देखिएको छ, त्यसैले एमालेसँग पनि संवाद सुरु गरेका हौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*