नवनियुक्त प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिने
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय पोसाक (दौरा–सुरुवाल) लगाएर शपथ लिने भएका छन् । खुमलटार स्रोतका अनुसार शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने भएका हुन् ।
यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका उनले पहिलो पटक दौरा–सुरुवाल लगाएर शपथ लिन थालेका हुन् ।
स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए । हिजो सोहखुट्टेको एक टेलरलाई बोलाएर दौरा सिलाउन लगाइएको छ । माओवादी मन्त्रीले पनि दौरा सुरुवालमा शपथ खाने छन् ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ ।
























