बागमती प्रदेशले भोलि नयाँ मुख्यमन्त्री पाउने, को बन्लान चौँथो मुख्यमन्त्री ?

हेटौंडा । बागमती प्रदेशले भोलि सोमबार प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने पक्कापक्की रहेको छ । प्रदेश प्रमुख यादवचन्द्र यादवले प्रदेश सरकार गठनका लागि दिएको समय भोलि अपरान्ह ४ बजे सकिनेछ । त्यसअघि प्रदेश सभामा निर्वाचित दलहरुले सरकार गठनका लागि आवश्यक बहुमतसहित दाबी पेश गर्नुपर्ने हुन्छ ।

४ मंसिरमा भएको आम निर्वाचनमा प्रदेशमा कुनैपनि पार्टी बहुमत ल्याउन नसकेपछि दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्ने हुन्छ । १ सय १० प्रदेश सदस्सीय रहेको बागमतीमा प्रदेश सरकार गठनको लागि ५६ जना प्रदेश सांसद आवश्यक हुन्छ ।

चौँथो मुख्यमन्त्री बन्ने दौडमा थपलिया, जम्मकट्टेल र थापा

बागमती प्रदेश सरकारको नेतृत्वको लागि सत्ता गठबन्धनको दलहरुसँग बहुमत रहेको छ । मुख्यमन्त्रीको लागि ५६ मत आवश्यक पर्नेमा गठबन्धनको एमालेसँग २८, माओवादीसँग २१ र १३ मत गरी ६२ मत रहेको छ ।

प्रदेशको मुख्यमन्त्रीको लागि सत्ता गठबन्धनको नेकपा एमाले, नेकपा माओवादी र गठबन्धनलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा ० ले तयारी गरिरहेको छ ।

मुख्यमन्त्रीको लागि गठबन्धनबाट एमाले बागमती प्रदेशको संसदीय दलको नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा संसदीय दलका नेता उद्धव थापाले दाबी गरिरहेका छन् । स्रोतका अनुसार बागमतीको नेतृत्व एमाले र राप्रपाले पाउने सम्भावना बलियो रहेको छ ।

सत्ता गठबन्धनबाट मंगलबार संघीय संसदमा प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुन राप्रपाले एक उपप्रधानमन्त्रीसहित ४ मन्त्री र बागमती प्रदेश सरकारको नेतृत्व दाबी गरिरहेको स्रोतको दाबी छ ।

यसअघिनै प्रदेशको राप्रपा संसदीय दलका नेता रहेका राप्रपाका थापाले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले राप्रपा केन्द्र र प्रदेशको सरकारमा जाने अवस्था आएमा बागमतीको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका थिए । थापाले सात वटामध्ये चार वटा प्रदेशमा राप्रपाको निर्णायक भूमिका रहेको बताउँदै राप्रपाको दाबी बागमतीको मुख्यमन्त्रीमा मात्र रहने बताएका थिए ।

४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादीका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना, हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

बागमतीमा यसअघि पहिलो कार्याकालमा ३ जना मुख्यमन्त्री बनिसकेका छन् । ०७४ मा भएको निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्दै प्रदेश सांसद डोरमणी पौडेलको नेतृत्वमा प्रदेश सरकार बनाएको थियो ।

राजनीतिक घटनाक्रमसँगै केन्द्रको सरकार परिवर्तन हुँदा प्रदेशको सरकार पनि परिर्वतन भएको थियो । पौडेलपछि बागमतीको नेतृत्व तत्तकालिन एमाले नेतृ अष्टलक्ष्मी शाक्य र एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेले लिएका थिए । पाण्डे प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित भएपछि संघीय संसदको शपथ लिएसंगै प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*