विमान दुर्घटनास्थलमा फ्रान्सेली विज्ञ टोली
पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा फ्रान्सेली विज्ञ टोली आएको छ।
एटिआर विमान दुघर्टनाबारे अध्ययन गर्न विमान निर्माण कम्पनीको तर्फबाट ९ सदस्यीय टोली नेपाल आएको हो।
मंगलबार साँझ आएको टोलीले बुधबार बिहानैदेखि दुर्घटनास्थलमा अध्ययन गरिरहेको छ। टोलीले दुर्घटनाको कारण र विमान निर्माणमा त्रुटि भएरनभएको जाँच गर्ने जनाइएको छ।
दुर्घटनालगत्तै नेपाल सरकारले पनि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग बनाएको थियो। आयोगका सदस्यहरू पनि जाँचबुझका लागि घटनास्थलमा छन्।
पोखरा महानगरपालिका- ७ र १५ जोड्ने मितेरी पुल नजिकै आइतबार बिहान ११ बजेको आसपासमा विमान दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर चालक दलका ४ सहित ७२ जनाको मृत्यु भएको छ। हालसम्म ७० जनाको शव फेला परेको छ।
























