राष्ट्रपतिमा कांग्रेस र नेकपा एसको दाबी
काठमाडौँ– राष्ट्रपति र उपपराष्ट्रपतिबारे पुरानो सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल सहमतिनजिक पुगेका छन्। शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरु सहमति नजिक पुगेका हुन्।
राष्ट्रपतिमा नेपाली कांग्रेस र उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए। यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना छ।
शुक्रबार बिहान कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो। बैठक सहमति नजिक पुगेको भनेर दाबी गरिएपनि एकीकृत समाजवादीले पनि राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ।
कांग्रेस र एकीकृत समाजवादी दुवैले राष्ट्रपतिमा दावी गरेको कारण कुरा मिलिहाल्ने निश्चित भने छैन। उनका अनुसार उपराष्ट्रपति भने जसपाले पाउनेछ। गठबन्धनको बैठक बेलुका पाँच बजे फेरि बस्नेछ। पुरानो गठबन्धनको बैठकपछि दलहरुले आन्तरिक छलफल गर्दैछन्।
त्यसअघि दिउँसो प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ताको तयारी छ। अहिले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी रहेकाले नेताहरु केहिवेर संसदमा व्यस्त छन्। संसदमा सहभागी भएपश्चात दलहरु पुनस् राष्ट्रपतिको उम्मेदवारको छलफलमा लाग्नेछन्।
























