कांग्रेस – एमाले दुवैले रोजे प्रतिपक्षी बेन्च , संसद बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले दुवैले प्रतिपक्षी बेन्च रोजेपछि प्रतिनिधि सभाको बैठक १८ दिन पर सरेको छ ।

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो एक बजे बस्ने तयारी थियो । तर, कांग्रेस र एमाले दुवैले आफूहरु प्रतिपक्षमा बस्ने जानकारी संसद सचिवालयलाई गराए । त्यसपछि दलहरुसँगको समन्वयमा संसद सचिवालयले सूचना जारी गरेर बैठक नै आगामी चैत ५ गतेसम्मका लागि स्थगित गरिदियो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणबस सभामुखले प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ ।

त्यो विशेष कारण भनेको नेपाली कांग्रेस र नेकपा एमाले दुवै प्रतिपक्षमा बस्ने स्थिति हो । कांग्रेस र एमाले दुवै प्रमुख प्रतिपक्षको बेन्चमा बस्ने अवस्था आएपछि संसद बैठक स्थगित गरिएको एक नेताले बताए ।

पहिले सरकारमा रहेको नेकपा एमालेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर सरकारबाट बाहिरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*