नङ टोक्नु स्वास्थ्यका लागि हानिकारक !!
बिबिसी – सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’ भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ।
तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया÷कीटाणू पूर्णतया समाप्त हुँदैनन् वा भनौँ हाम्रो हात कीटाणूमुक्त हुँदैन। त्यसैले बिरामीको जाँच वा उपचार गर्दा चिकित्सक र नर्सहरू पन्जा लगाउँछन्। करिब सय वर्षअघि चिकित्सकले के पाए भने, बारम्बार हात धुँदा पनि हात पूर्ण रुपमा कीटाणूमुक्त हुँदैन। तर, यसको कारण पत्ता लगाउन भने करिब ७० वर्षभन्दा बढी समय लाग्यो। सन् १९७० तिर आएर मात्र हात पूर्णतया कीटाणूमुक्त नहुने कारण पत्ता लाग्यो। वैज्ञानिकहरूले परीक्षणबाट के पत्ता लगाए भने हातका औंलाको टुप्पो सफा भए मात्र कीटाणू फैलन घट्छ। हाम्रो नङमुनिको ठाउँमा यति धेरै कीटाणू हुन्छन् कि यसलाई कीटाणूको घर भने हुन्छ।
हात धुँदा नङ र औंलाको काप राम्ररी सफा हुँदैन। साथै हात धोएपछि पनि नङ र काप धेरै बेरसम्म सुक्दैन। सुख्खा नहुने र ओसिलो (भिजेको) ठाउँमा ब्याक्टेरियाको अत्यन्त छिटो वृद्धि हुन्छ। सन् १९८८ मा अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयमा एउटा अनुसन्धान भयो। अनुसन्धानमा २६ जना स्वयंसेवक र केही कर्मचारीका हातको नमूना परीक्षण गरियो। परीक्षणमा नङ र औंलाका काप नै त्यस्ता ठाउँ प्रमाणित भए, जहाँ हातका अन्य भागभन्दा बढी ब्याक्टेरिया पाइयो। पूरै हातभरि हजारौं ब्याक्टेरिया भेटिए भने नङमुनि लाखौं ब्याक्टेरिया फेला परे।
हात धुँदा पनि साबुन नङमुनि मुस्किलले पुग्छ र त्यहाँ रगडेर सफा गर्न पनि कठिन छ। यसैकारण नङमुनि ब्याक्टेरिया मजाले वृद्धि भइरहन्छन्। यसमा हामीले पाल्ने लामा नङ र नक्कली नङको पनि ठूलो योगदान रहन्छ।
























