आज बागमती प्रदेश सभाको सातौं अधिवेशन बैठक
माघ ९, मकवानपुर । आज बागमती प्रदेश सभा सातौं अधिवेशन बैठक दिउँसो १ बजे हुने भएको छ ।
बागमती प्रदेश सभाको सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेश सभाको सातौं अधिवेशन बैठक आह्वान गरेका छन् । सभामुख श्रेष्ठले प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख श्रेष्ठले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा केपी शर्मा ओली पक्ष नेकपाका नेताहरुसँग हिजो राति छलफल गरी आजको लागि बैठक आह्वान गरेका प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
उनका अनुसार, प्रदेश सभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा ओली पक्ष नेकपाका लनेताहरुसँग सहमति गरेर ल्याउन भनिए अनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गरेका हुन् । आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कार्य परामर्श समितिकोे हिजो बसेको बैठकमा भएको निर्णयहरु आज बिहान ११ बजे बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रदेश सभाको सातौं अधिवेशन बैठक यही माघ ७ गते संचालन भई विभिन्न दलका नेताहरुले शुभकामना मनतव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चित कालको लागि बैठक स्थगित गरेका थिए ।


























